Saturday, March 12, 2011

जापानमा महाभूकम्प


टोकियो (एजेन्सीहरू), फाल्गुन २८ - जापानमा शुक्रबार शताब्दीकै शक्तिशाली भूकम्प गएको छ । भूकम्प र त्यसका कारणलगत्तै आएको सुनामीबाट कम्तीमा ३ सयको मृत्यु भएको छ । स्थानीय समयअनुसार दिउँसो पौने ३ बजे राजधानी टोकियोबाट ३ सय ७३ किलोमिटर उत्तरपूर्वी भागमा केन्द्रविन्दु भएको ८ दशमलव ९ रेक्टर स्केलको भुइँचालो गएको हो ।

शक्तिशाली समुद्री छाल जापानको मियागी र फुकुसिमा क्षेत्रमा पसेको छ । त्यस क्षेत्रका दर्जनौं तटवर्ती बस्ती ध्वस्त भएका छन् । जापानी समाचार संस्था क्योदोका अनुसार १० मिटर अग्लो छालले मियागीस्थित सेन्डाई सहर छोपेको थियो । पानीको छालबाट बँच्न मोटरहरू बेसरी कुदिरहेको दृश्य टेलिभिजनले देखाएका थिए । टोकियो प्रहरीका अनुसार एउटा विदेशी यात्रुबाहक रेल हराइरहेको छ । त्यसमा कति यात्रु थिए भन्ने खुलेको छैन । एक सय यात्रु बोकेको अर्को जहाज छालले बगाएको पनि प्रहरीले जनाएको छ ।

फुकुसिमा आणविक ऊर्जा केन्द्रको चिस्यान प्रणाली भूकम्पका कारण बन्द भएपछि त्यहाँ संकटकाल घोषणा गरिएको छ । मानिसलाई अन्तै सार्न थालिएको छ । भूकम्पको सबै क्षति यकिन हुन सकेको छैन् । सडकहरू पूरै भत्किएका छन् । टोकियोमा एक शैक्षिक समारोह भइरहेको भवनको छत खस्दा २० मानिस घाइते भएका छन् ।

भूकम्पका कारण समुद्री छाल उर्लिएर आउन थालेको छ । छालले धानखेत बगाएको छ भने सहरहरू पूरै डुबाएको छ । उर्लिएको समुद्रले घरैसमेत उप्काएर सडकमा ल्याइदिएको छ । भूकम्पका कारण ८० भन्दा बढी ठाउँमा आगलागी पनि भएको छ । धक्काले मोटर र कारलाई खेलौनाजत्तिकैहुर्‍याइदिएको थियो ।

जापानी प्रधानमन्त्री नाओटो कानका अनुसार प्रभावित क्षेत्रहरूमा आपतकालीन उद्धार सुरु भएको छ । रेडियो विकिरण ऊर्जा केद्रमा कुनै क्षति नपुगेको र ऊर्जा विकिरण नचुहिएको प्रधानमन्त्रीले बताएका

छन् । भूकम्पको केन्द्र नजिकैका ४ आणविक केन्द्र सुरक्षापूर्वक बन्द गरिएका छन् । तर फुकुसिमा आणविक ऊर्जा केन्द्रछेउका २ हजार परिवारलाई अन्यत्र जान भनिएको छ । लगातार जमिन हल्लिन थालेपछि आत्तिएका जापानी सडकमा निस्किएका थिए । कार्यालय र विद्यालयहरू तत्काल बन्द गरिएका थिए । बच्चाहरू बाटोमा रोइरहेका देखिन्थे ।

भुइँचालोले पुलमाथि गुडिरहेका कार हावाले पत्कर उडाएजस्तै उडाएर नदीमा खसालिदिएको थियो । पानीमा कागजको डुंगा तैरिएजस्तो थुप्रै कार र जिपहरू तैरिँदै बगेका थिए ।

भूकम्पमा भत्किएका भग्नावशेष हावामा ज्वालामुखीको लाभाजस्तै उडेका थिए । यसरी हावामा भग्नावशेषले डुंगा, घर र होर्डिङबोर्डलाई धक्का दिएका थिए । टोकियो र आसपासका सहरका ४० लाखभन्दा बढी घर बिजुली, पानी र टेलिफोन अवरुद्ध भएका छन् । टोकियो नजिकको तेल कारखानामा लागेको आगो निभाउन हम्मे परेको थियो । भूकम्प गएको घन्टौंपछिसम्म पनि सानातिना कम्पनहरू भइरहेका थिए । तीन घन्टाको बीचमा कम्तीमा ३० धक्का गए । सबभन्दा ठूलो धक्का ७ दशमलव १ रेक्टर स्केलको थियो ।

अघिल्लो बिहीबार पनि जापानकै होंसु टापुमा ६ दशमलव ३ रेक्टर स्केलको भुइँचालो गएको थियो । बिहीबार त्यही क्षेत्रमा ७ दशमलव २ रेक्टर स्केलको भुइँचालो गएको थियो । अहिलेसम्मको अभिलेखअनुसार चिलीमा सन् १९६० को मे २२ मा गएको भुइँचालो हालसम्मकै सबैभन्दा ठूलो हो । त्यो ९ दशमलव ५ रेक्टर स्केलको थियो । जापानमा शुक्रबार गएको भुइँचालो सन् १९०० पछिको सबभन्दा शक्तिशाली हो ।

जापानमा पटक-पटक भूकम्प जाने गरेपछि शुक्रबारको भूकम्पले सबैलाई स्तब्ध पारेको छ ।

'यो भुइँचालो अनुमानै गर्न नसकिने गरी आयो र धेरैबेर धेरै पटक दोहोरियो,' टोकियोका एक बासिन्दाले भने, 'मेरी पत्नी भुइँचालो जाँदा अहिलेसम्म डराएकी थिइनँ, तर आज आत्तिँदै झ्याल ढोका खोलिन् र घरै भत्किन लाग्यो भने भाग्नुपर्छ पनि भनिन् ।'

भुइँचालोपछि घरबाहिर निस्केका टोकियोवासी अझै भित्र पसेका छैनन् ।

'सुरुमा त मलाई डर लागेन तर पछि भुइँचालो गएकोगयै गर्न थाल्यो,' मध्य टोकियोका अमेरिकी नागरिक मिचेल रोबर्टसले भने, 'पछि त साँच्चै डर लाग्यो, म बस्ने तेस्रो तलामा भएका सबै सरसामान छरिबरि भयो, धन्न हामीलाई केही भएन ।' अमेरिकी राष्ट्रिय मौसम केन्द्रले भूकम्पका कारण कम्तीमा ५० देशमा सुनामी आउन सक्ने जनाएको छ । सुनामीले प्रशान्त सागरमा चाहिँ भीषण छाल उर्लिन थालेको छ ।

फिलिपिन्समा शनिबार बिहानै सुनामी पुग्ने अनुमान छ । त्यहाँको सरकारले तटवर्ती क्षेत्रका बासिन्दालाई अन्तै सर्न भनिसकेको छ । फिलिपिन्सजस्तै ५० देश र आसपासका क्षेत्रमा सुनामीको खतरा छ । रुसदेखि इन्डोनेसियासम्मै सुनामीको असर पर्ने मौसमविद्हरूले बताएका छन् । मध्य अमेरिकी मुलुक ग्वाटेमाला, एल सालभाडोर र कोस्टारिका साथै अमेरिकाको हवाई राज्यमा आपतकालीन साइरन बजाइएको छ ।

अमेरिका र क्यानडाको तटवर्ती इलाकामा पनि यस्तै साइरन बजाइँदैछ ।

केही मौसमविद्ले त प्रशान्त क्षेत्रका टापुका टापु नै सुनामीले उडाइदिन सक्ने चिन्तासमेत व्यक्त गरेका छन् । जापानमा प्रभावित क्षेत्रका मानिससमक्ष पुग्न मानवीय सहयोग निकायहरू उद्धारकर्तासँग सहकार्य गरिरहेका छन् ।

'यस्तो भुइँचालोले जापानजस्तो देशमा त यतिका क्षति पुर्‍याउन सक्छ भने फिलिपिन्स र इन्डोनेसियाजस्तो देशमा गयो भने के होला भन्ने हाम्रो चिन्ता छ,' राहत कार्यमा लागेको अन्तर्राष्ट्रिय संस्था वल्र्ड भिजनका प्रवक्ता राचेल वल्फले भनिन् । उनका अनुसार वल्र्ड भिजनले जापानका भूकम्प पीडितलाई सहयोग गरिरहेको छ भने सुनामी आउने ठानिएका देशहरूमा पनि उद्धार टोली जुटाउन थालेको छ ।

सुनामी भनेको शृंखलाबद्ध सामुदि्रक आँधी हो, जो कम्तीमा ५ देखि १५ मिनेटसम्म रहन्छ । यसले तटवर्ती इलाकामा ठूलो बाढी ल्याउँछ ।

No comments:

Post a Comment